लोभ गर्दा गर्दै स्वतन्त्रताले कहिलेकाँहि
जीवनलाईनै साङ्लो मान्दछ
माउते दाई , तिम्रो गरिबीले नबाधेको भएपनि
म हिमाल चाहिँ चढ्ने थिइनँ
मलाई स्वतन्त्रता र मूर्खताको फरक थाहा छ
अक्षर चिन्दिन, कुनै वाद जान्दिन
हृदय छ, मजबुरी चिन्दछु
एक सत्य यो , म तिमीबाट स्वतन्त्र हुँदा
तिम्रो छोरो कलमबाट स्वतन्त्र हुन्छ
तिम्रो हातले मुख हैन निधार छुन्छ
मेरै परिश्रममा अडेको छ तिम्रो भविष्य
एउटा सानो घरले उभिने रहर बोकेको छ
हामी दुई
स्वतन्त्रताकै सपना त बोकेर बाँचेका छौं
तर माउते दाई
पासो बोकेर साँझमा तिमी
यसरी जङ्गल तिर नहेर्नु
मलाई घरको सम्झना आउँछ
आफुलाई मेटेर, स्वतन्त्रता
पासोमा नखोज्नु माउते दाई
तिम्रो काँधको बोझलाई
नाथे पासोले थाम्दैन
जति जिम्मेवारी छन् , मेरै ढाडमा बिसाउ
तिम्रो छोराको कलम, केहि वर्ष अझै बोक्न सक्छु
हरदिन उसरीनै कमाउनलाई हिँडाउ
कर्तव्य एउटा परिवार प्रति मेरो पनि छ
माउते दाई ,
भो नटुक्र अब, पासो बिसाउ
हाम्रो स्वतन्त्रता तिम्रो मृत्युमा हैन
गरिबीमा अल्झेको छ
केहि काल अझै साथ हिँडौँ
दुवैका सपनालाई जोगाऔँ
किरिया बस्ने समयमा बरु तिम्रो छोरोले पढ्नेछ

